
यो वर्ष आसलाग्दो प्रारम्भिक परिवेशबाट संघर्षमय मध्यकाल पार गर्दै अन्त्यमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षभरि विभिन्न उतारचढाव आउनेछन्। वर्षको पूर्वार्ध र अन्त्य समयमा बृहस्पतिको अनुकूलताले विभिन्न अवसर प्राप्त हुनेछन्। केही परिस्थितिसँग सम्झौता गर्नुपरे पनि यस बीचको मिहिनेतले दिगो फाइदा दिलाउनेछ। अध्ययनमा राम्रो नतिजा हासिल हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। लगनशीलताले विदेश जाने अवसरसमेत दिलाउन सक्छ। घरमा मंगलमय कार्य सम्पादन हुनेछ। प्रेम सम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ। साउन २१ गतेसम्म सुखभावमा राहुको उपस्थितिले पारिवारिक माहोल अशान्त रहनेछ। जेठ ६ देखि मंसिर १ गतेसम्म शनिदेव कष्टभावबाट बाहिरिनाले रोकिएका काम बन्नुका साथै अप्ठ्यारा परिस्थितिबाट मुक्ति मिल्नेछ। तर, भदौ २१ देखि फागुन २७ सम्म बृहस्पति शत्रुभावमा जाने हुँदा प्रतिकूल प्रभाव बढ्नुका साथै आफन्तसँग वैरभाव, स्वास्थ्यमा समस्या र व्यवसायमा शत्रुबाधा देखापर्न सक्छ। वैशाख र मंसिरपछिका महिनामा कष्टभावमा रहने शनिको अढैया दशाले काममा बाधा, असफलता, मानसिक तनाव, चोटपटक, स्वास्थ्यबाधा, अत्यधिक खर्चजस्ता समस्या निम्त्याउने देखिन्छ। अप्ठ्यारो समयमा प्रतिकूल ग्रहको शान्तिकर्म गर्दा फाइदा हुनेछ। बगलामुखी र शिवजीको पूजाले बृहस्पतिजन्य दोष निवारण हुन्छ भने शनिबार पीपलमा जल चढाउँदा, कालीको पूजा गर्दा शनिजन्य दोष र वटुकभैरव तथा छिन्नमस्ताको पूजा गर्दा राहुजन्य दोष निवारण हुनेछ। यसबाहेक आफ्ना इष्टदेवको पूजा गरी रोकिएका काममा पुन: प्रयास गर्दा पनि लाभ हुनेछ। साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, जेठ, भदौ र मंसिर महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन्। (नेपाली पात्रो)
0 comments: