देम्बा खबर । भारतको गोवा राज्यको दक्षिणी क्षेत्रमा पर्ने कुर्चोरम इलाकामा सान्वोडेम जुआरी नदीमाथि बनेको फुटब्रिज भाँचिनाले ५० जना व्यक्तिहरू जुआरी नदीमा खसेका छन् । तीमध्ये दुई जनाको मृत्यु भएको छ ।
नदीमा खसेकामध्ये ३० जनालाई बाहिर निकालिएको छ भने केही आफै पौडी खेलेर बाहिर निस्केका छन् । घाइते भएका पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेको र केही व्यक्ति अझै हराइरहेको समाचारमा उल्लेख छ ।
बिहीबार साँझतिर एकजना युवकले नदीमा हाम्फालेर आत्महत्या गर्न खोजेपछि उसलाई बचाउनका लागि पुलमा भीड जम्मा भएको र अत्यधिक भारका कारण पुल भाँचिएको दैनिक भास्करले जनाएको छ ।
समाचारमा जनाइएअनुसार पुर्तगाली शासनकालमा बनाइएको त्यो पुल निकै पुरानो थियो । विगत चार वर्षदेखि पुलमा सवारी साधन चलाउन रोक लगाइएको थियो । पुलको प्रयोग केवल पैदल आवागमनका लागि मात्र हुँदै आएको थियो ।
0 comments: